हरेक सहरमा लुकेको कथा
सङ्गीता बन्ध्योपाध्याय बङ्गाली लेखिका हुन्। उनका नौ वटा उपन्यास र पचासभन्दा बढी कथा प्रकाशित छन्। तीमध्ये बन्ध्योपाध्यायको ‘अबान्डन’ बङ्गालीभाषाबाट अङ्ग्रेजीमा अनुवाद गरिएको उपन्यास हो। अरुणभा सिन्हाले बङ्गाली भाषाबाट यो उपन्यास अङ्ग्रेजीमा अनुवाद गरेका हुन्।
भारतको कोलकोत्ता सहर धेरै कथा बोकेको सहर हो। वास्तवमा हरेक सहरले धेरै कथा बोकेका हुन्छन्। हाम्रै काठमाडौं मात्र कथामा गरिब कहाँ छ र? धनी सहरमा जति धेरै धनका कथा हुन्छन्, गरिबीका कथा पनि उत्तिकै हुन्छन्। गरिब सहरमा पनि धनी र गरिब दुवैका उत्तिकै सङ्ख्यामा कथा हुन्छन्। भारतका अरू सहरको तुलनामा कोलकोत्ता कला, साहित्य र संस्कृतिमा समृद्ध सहर हो।
रवीन्द्रनाथ ठाकुरको विरासत बोकेको कोलकोत्ता आज पनि साहित्य र संस्कृतिको केन्द्र नै मानिन्छ। अर्थात् कोलकोत्तामा कला, साहित्य र संस्कृतिका लागि मलिलो माटो छ। त्यो माटोमा कोलकोत्ताको भित्र अन्तरकुन्तरमा लुकेर बसेको एउटा कथालाई सङ्गीता बन्ध्योपाध्यायले उपन्यासको रूप दिएकी छिन्।
उपन्यास ईश्वरीको कथा हो। समयले ईश्वरीलाई डोर्याएको बाटोको कथा हो। अनि समयसँग ईश्वरीको सम्झौताको कथा हो। ईश्वरीलाई निःसन्तान आमाबुवाले कुनै अनाथालयबाट अङ्गीकार गर्छन्।
ईश्वरीलाई माया–ममताको कुनै कमी थिएन। तर, ईश्वरीलाई अङ्गीकार गर्ने दम्पतीले जुन दिन आफ्नै सन्तानलाई जन्म दिए, ईश्वरीप्रतिको उनीहरूको ममता आफ्नै रगतमा सर्दै गयो। ईश्वरी परित्यक्त भइन् । परित्यक्त ईश्वरी ठूली भइन् । सधैंभरि यातनाको आहालमा डुबाउने पतिको सिकारमा परिन् उनी।
अनच्छित गर्भ रह्यो। जति गर्दा पनि गर्भको हत्या सम्भव भएन। बच्चा जन्मियो। बच्चाको नाम राखियो– रू । ‘रू’लाई परित्याग गरी ईश्वरी जीवनको आफ्नै यात्रामा अघि बढ्न खोज्छिन्। तर, आमाभित्रको सन्तानमोहबाट उनी मुक्त हुन सकिनन्।
एक रात बाँकी संसार परित्याग गरेर छोरालाई लिएर कोलकात्ता सहरमा आइपुग्छिन्। न बस्ने ओत न खाने थाल। संयोग र सङ्घर्षको शृङ्खलाबीच ईश्वरीको भेट विश्ववनसँग हुन्छ। विश्ववन एउटा धनी परिवारको छोरा जसको श्रीमतीको केही समयअघि सडक दुर्घटनामा मृत्यु भ्एको हुन्छ।
उनी आफैं पनि शारीरिक रूपमा असक्त छन्। कला र साहित्यका पारखी विश्ववनलाई पत्नी वियोगको पीडा कम गर्न कला र साहित्यका कुरा गर्ने सहयोगीको खाँचो हुन्छ।
ईश्वरीले डेरा लिएको लजका धनी रन्तीदेवको सहयोगमा ईश्वरीले विश्ववनकोमा काम पाउँछिन्। स्वयम् साहित्यपारखी ईश्वरीले चाँडै विश्वबनको मन जित्छिन् । तर, उनका लागि विश्वबनभन्दा महत्वपूर्ण हुन्छ–छोरा ‘रू’ ।
‘रू’लाई मिर्गौला रोग लागेको पत्ता लाग्छ। विश्ववनको प्रेम र ‘रू’प्रतिको जिम्मेवारीको दोसाँधमा ईश्वरीले अन्योलको समय बिताउँछिन्। सम्पन्न विश्ववनका लागि ईश्वरीसँग बाँकी जीवन बिताउने बाधक ‘रू’ बनेको हुन्छ।
‘रू’सहितको ईश्वरीलाई स्वीकार्न विश्ववनको धनी परिवारको दम्भले दिँदैन। एकातिर ‘रू’प्रतिको जिम्मेवारी अनि अर्कोतिर विश्ववनको प्रेम अनि बाँकी जीवन–ईश्वरीको लागि अन्योलको विषय बन्छ।
अन्ततः एक दिन टाढाको गाउँमा लाग्ने एउटा मेलामा रूलाई ईश्वरीले छाडिदिन्छन्। मिर्गौला रोगले पीडित छोरालाई भीडमा छोडेर फर्केकी ईश्वरीलाई आफ्नो यो कदमप्रति कति पनि पश्चाताप लाग्दैन। उनलाई लाग्छ–एक जना अभ्यस्त र निपुण कलाकारले एक वा अर्को रूपमा आफ्नो आत्मा त्याग्नैपर्ने हुन्छ।
ईश्वरीहरूले आफ्नो जीवनको खुसी खोज्दा ‘रू’हरू समाजमा अनाथ हुन्छन्। अनि समाजमा परित्यक्त बनेर बाँकी जीवन बाँचेका हुन्छन्।
सङ्गीताको ‘अबान्डन्ड’ एउटा औसत उपन्यास हो । यसमा धेरै युगान्तकारी विषयवस्तु छैनन्। तर, उपन्यासले सहरिया जीवनमा हामीले भेटिरहने पात्र र प्रवृत्तिलाई चित्रण गरेको छ। मातृत्वभन्दा समाजलाई आफ्नो निजी सुख प्यारो हुन थालेको छ।
सहयोग गर्ने हातहरू क्रमशः दुर्लभ बन्दै गएका छन्। गौरोहोरी जस्ता सहयोगी र सहृदयीहरू समाजबाट दुर्लभ बन्दै गएका छन्। उपेक्षित र अपमानित छन्। निखिल विश्वास जस्ता पात्र पनि समाजमा भेटिन्छन्, जो जीवनका हरेक पहलुलाई पैसासँग जोख्ने गर्छन्।
‘रू’ निर्दोष छ। ‘रू’लाई ईश्वरीले जन्माउन चाहेकी थिइनन्। त्यसैले आफ्नो पाठेघरमा हुर्किंदै गरेको भ्रणलाई मार्न अनेक जुक्ति गरिन्। तर, मारिहाल्न पनि सकिनन्।
‘रू’ निर्दोष छ। ‘रू’लाई ईश्वरीले जन्माउन चाहेकी थिइनन्। त्यसैले आफ्नो पाठेघरमा हुर्किंदै गरेको भ्रणलाई मार्न अनेक जुक्ति गरिन्। तर, मारिहाल्न पनि सकिनन्।
उनले ‘रू’लाई त्यागेर कतै टाढा आफ्नै जीवनको उपन्यास लेख्न खोजेकी थिइन्। तर, उपन्यासको पाना मैनबत्तीको आगोले भष्म बनाएपछि फेरि उपन्यास लेख्ने जाँगर गरिनन्। उपन्यास जलेसँगै पलाएको सन्तानमोहले ईश्वरीलाई फेरि ‘रू’सम्म पुर्यायो।
‘रू’कै लागि ईश्वरीले जीवनका धेरै पाटा त्याग्न तयार भइन् । अन्ततः ईश्वरीले आफ्नो बाँकी जीवनकै लागि रूलाई कुनै अनिश्चित भविष्यको कुनै अनकन्टार भीडमा परित्याग गरिन्। ‘अबान्डन’ हरेक सहरमा कुनै न कुनै रूपमा लुकेको कथा हो।
ईश्वरीहरूको मनस्थिति हरेक सहरको कथा हो। सहरले हरेक मानिसलाई पटक–पटक दोधारमा पुर्याएको हुन्छ। वास्तवमा सहरी जीवनमा धेरै दोधार हुन्छन्।
बन्ध्योपाध्यायले सहरी जीवनका उत्पादन ईश्वरीहरूका दोधारलाई उपन्यासमा चित्रण गरेकी छिन्। कथा कोलकोत्ताको भए पनि यसका पात्रका प्रवृत्ति भने सबै सहरका हुन्।
ईश्वरीहरूले आफ्नो जीवनको खुसी खोज्दा ‘रू’हरू समाजमा अनाथ हुन्छन्। अनि समाजमा परित्यक्त बनेर बाँकी जीवन बाँचेका हुन्छन्।
बन्ध्योपाध्यायले उपन्यासमा ईश्वरी र ईश्वरीको अन्तरमनलाई दुईवटा पात्र बनाएर प्रस्तुत गरेका छन्। यसले पाठकलाई घटनाको प्रवाह र पात्रको मनोस्थिति एकै पटक बुझ्न सहयोग गरेको छ।
Comments