कोरोनाको असरः ‘गुलजार’ ठमेल सुनसान

काठमाडौं, फागुन २२ : ठमेल अर्थात राजधानीको प्रमुख व्यापारिक केन्द्र। आन्तरिक मात्रै होइन, बाह्य पर्यटकको भिडभाड हुने ठाँउ। दिउँसो मात्रै होइन, रातिसमेत गुल्जार हुन्थ्यो ठमेल।
तर, एक महिना यता ठमेलको कथा फेरिएको छ। गुल्जार ठमेल सुनसान बनेको छ। विदेशी पर्यटक निकै कम संख्यामा देखिन्छन्। व्यापार प्रायः ठप्प छ। व्यापारीहरूले पसल खोल्छन्, तर ग्राहक आउँदैनन्। होटल व्यवसायको अवस्था पनि उही छ।
२०७२ बैशाख १२ को महाभूकम्पपछि ठमेल यस्तै थियो, जस्तो आजभोलि भएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको मार ठमेलले खेपेको छ। कोरोनाको हल्ला चलेयता नै विदेशी पर्यटक कम आउन थाले। केही दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च जोखिमको सूचीमा राखेपछि झन् ठूलो असर ठमेलको व्यापारमा देखिन थालेको छ।  
घुम्नका लागि नेपाल आउन अनलाइन बुकिङ गरेका पर्यटकहरुले बुकिङ रद्द गरिरहेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एशियामा मात्रै ७५ प्रतिशत पर्यटकहरुले बुकिङ रद्द गरेका छन्। यसले ठमेल मात्रै होइन, मुलुककै पर्यटन उद्योगलाई ठूलो असर पुर्‍याउने देखिन्छ। सरकारले उत्साहका साथ २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर भ्रमण वर्ष–२०२० घोषणा गरेको थियो।
तर, कोरोना संकटका कारण सरकारले भ्रमण वर्ष लक्षित सबै कार्यक्रम रद्द गर्ने घोषणा गरिसकेको छ। यो अवस्थाले ठमेलको व्यापारमा लामै समय असर पुग्ने अनुमान गरिएको छ।
सुनसान ठमेल, निराश व्यापारी 
बुधबार दिउँसो ठमेलस्थित सिघलमा कृष्ण भट्ट पसलमा टोलाएर बसेका थिए। चियापत्ती र मसलाको व्यापार गर्दै आएको उनको पसल एक महिना यता सुनसान छ । पसल खोल्छन् तर ग्राहक भने पहिलेको तुलनामा निकै कम आउँछन्। 
उनी मात्रै होइन, २५ वर्षदेखि पस्मिनाको व्यापार गर्दै आएकी ४१ वर्षीया सुनिता खनालको दैनिकी पनि उस्तै छ। ग्राहकको प्रतिक्षामा उनको दिन बित्ने गर्छ। महिना दिन अघिसम्म ग्राहकलाई सामान देखाउनमै व्यस्त हुने उनी आजभोलि पसलमा टोलाएर बस्नु परेको छ। 
उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन्, ठमेलका अधिकांश व्यवसायीको कथा आजभोलि उस्तै छ। सधैँ भिडभाड भइराख्ने ठमेल कोरोनाको त्रासका कारण सुनसान छ। ‘भूकम्पपछि व्यापारमा केही सुधार देखिएको थियो,' भट्ट भन्छन्, ‘तर, कोरोना भाइरसको त्रासले ठमेल फेरि सुनसान भएको छ। सरकारले भ्रमण वर्ष घोषणा गरेसँगै धेरै पर्यटक भित्रिने र व्यापार पनि बढ्ने अपेक्षा थियो। तर, उल्टो भयो।’
१५ वर्षअघि गोरखाबाट काठमाडौं आएर घरेलु समान उत्पादन गर्ने पसलमा काम गरेका उनी ठमेलको व्यापार देखेर लोभिए। विदेशी पर्यटकले नेपाली उत्पादन मन पराएको देखेर चियापत्ती र मसलाको व्यापार उनले सुरु गरेका थिए।
‘चियापत्ती र मसलाका पसल ठमेलमा कमै थिए। त्यसैले व्यापार राम्रै थियो,’ उनी भन्छन्, ‘भूकम्पका बेला र अहिले भने लगभग व्यापार सुकेको अवस्था छ।’
भूकम्पले ठमेलको व्यापारलाई लामो समय थला पारेको थियो। विस्तारै जागेको ठमेललाई कोरोनाले धक्का दिएको छ। पर्यटक भित्रिने सिजनमै कोरोना भाइरसको आतंकले ठमेलको रफ्तारमा ‘ब्रेक’ लागेको छ। मासिक लाखभन्दा बढी व्यापार गर्ने पसलले आजभोलि दिनभर ग्राहक कुरेर ५ सय रुपैयाँको व्यापार गर्ने अवस्था सिर्जना भएको छ। ‘पसलको भाडा, कोठाभाडासँगै घरपरिवार चलाउन सहज अवस्था थियो। व्यापार नै सुक्यो,’ भट्ट भन्छन्। 
खनालको दु:खेसो पनि उस्तै छ। ‘आजभोलि पसलमा बस्नै मन लाग्न छोडेको छ। सामान किन्न कोही आउँदैनन्। यत्तिकै बस्दा अल्छी लाग्छ,’ उनी भन्छिन्, ‘ दैनिक १०–१५ हजारको व्यापार हुन्थ्यो। ग्राहकको घुइँचो हुने ठाउँमा कोही आइहाल्छ कि भनेर पर्खिनुपर्ने दिन आयो।’ अक्टोवरपछि नेपालमा पर्यटनक भित्रिने सिजन सुरु हुन्छ। यो बेला ठमेलमा भिडभाड हुनुपर्ने हो, तर दुई हप्ता यता भने सुनसान छ।

Comments

Popular posts from this blog

प्रत्यक्ष बिक्री व्यवसाय (शून्य लगानी) मैले भेस्टिजमा किन सामेल हुनुपर्छ?भेस्टिज व्यापार योजनाका विशेष लाभहरू

Why should I join vestige?Exclusive Benefits of Vestige Business Plan

मायाको पहिलो सौगात स्वरुपहृदयको मेरो सानो अनुरोधकोरेर तिमिलाई मायाको,भिक माग्दै छु।मेरो रोजाइमा मन परेकी सानू ....न्यानो माया अनि मीठो सम्झना.।सानु जिबनमा पहिलो प्रेमपत्र तिम्रो नाममा कोर्दैछु।तिम्रो न्यानो स्नेह र साथको आसामा।