नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता
नेपालमा वस्तुको प्रत्यक्ष बिक्री प्रणालीः भ्रम र वास्तविकता पृष्ठभूमि वस्तुको प्रत्यक्ष बिक्री प्रणालीको अवधारणा पूरानै व्यापारिक अभ्यास हो। अन्तर्राष्ट्रिय प्रचलन नियाल्दा जर्मनीमा सन् १८८३ मा वस्तुको प्रत्यक्ष बिक्री गर्ने उद्धेश्यले भोरवेर्क र सन् १८८६ मा संयुक्त राज्य अमेरिकामा एभोन नामका व्यापारिक कम्पनी स्थापना भएको पाइन्छ। ती कम्पनीहरु अहिलेसम्म पनि संजालयुक्त पिरामिड अवधारणामा संचालित छन्। सन् १९३० को विश्व आर्थिक मन्दीपछि यस्तो व्यवसाय गर्ने कम्पनीहरुको स्थापनामा व्यापकता आएबाट तत्पश्चात यस किसिमको व्यवसायले अझै धेरै बढवा पाएको देखिन्छ। आर्थिक मन्दीपछिको बेरोजगारी समस्या र ठप्प अर्थतन्त्रलाई प्रत्यक्ष रुपमा सघाएकै कारण यस किसिमको व्यवसायले फष्टाउने र मौलाउने मौका पाएको सहज अनुमान गर्न सकिन्छ। पछिल्लो एक तथ्याङ्क अनुसार विश्व व्यापारमा वस्तुको प्रत्यक्ष बिक्री व्यापार प्रणालीले १५० विलियन अमेरिकी डलर बराबरको कारोबार ओगटेको छ। यस तथ्याङ्कले वस्तुको प्रत्यक्ष बिक्री प्रणालीको दायरा व्यापक रहेको पुष्टि गर्दछ। बाह्य मुलुकहरुमा यो विषय मात्र हेर्ने गरी छुट्टै मन्त्रालय/व...